काठमाडौं, ५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।
मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले आफूलाई एमसीसीकै पक्षमा उभ्याएको हो ।
कांग्रेसले सो विषयलाई कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमार्फत कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।
सर्वदलीय बैठकमा काग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी तत्काल पारित गर्न आग्रह गरे । उनले एमसीसी कुनै हालतमा रोक्न नहुने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै सरकारले एमसीसी परियोजनाको सम्झौता गरेकाले कांग्रेस एमसीसी परियोजनालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताए ।
‘शेरबहादुरजी प्रधानमन्त्री भएको बेला एमसीसी परियोजनाको सम्झौता भएको हो, कांग्रेस एमसीसी परियोजनालाई अघि बढाउनुपर्ने पक्षमा छ, हामीले सो परियोजनाको प्रस्ताव संसद्मा टेबुल गर्न भनेका छौं, बैठकमा पनि हामीले यही कुरा राख्यौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
कांग्रेसले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसद्लाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नेतर्फ पनि ध्यान दिन सरकारलाई सुझाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना महामारी बढ्दोक्रममा रहेकाले परीक्षणको दायरा बढाउन, संक्रमितको उपचारका लागि भरपर्दो व्यवस्था मिलाउन, सीमानाका हुँदै आएकालाई सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउन र संक्रमण व्यापक हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न तथा लकडाउनको विकल्पमा समेत आवश्यक तयारी गर्न सरकारलाई सुझाइएको जानकारी दिए, आजको राजधानी दैनिकले समाचार लेखेको छ ।
FACEBOOK COMMENTS