काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन् । पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन् ।
बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय भएको पार्टीप्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल समूहले राखेको मागअनुसारै ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्न र पुराना कमिटी ब्युँताउन आयोजक कमिटीको बैठक बोलाएका छन् । सोहीअनुसार आयोजक कमिटीको बैठक बस्ने भएको छ । ‘नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको छ, यो निर्णयसँगै सबै संरचना पुरानै अवस्थामा आएका छन्,’ पार्टीप्रवक्ता ज्ञवालीले भने ।
बैठकले एमालेका दुई वरिष्ठ नेता, पदाधिकारी तथा स्थायी कमिटी सदस्य यथावत् रहने निर्णय गरेको छ । सो बैठकका अनुसार झलनाथ खनालको वरीयता ओलीपछि र नेपालको वरीयता खनालपछि हुनेछ । अर्थात् एमालेमा नेपालको स्थान अब ओलीपछि तेस्रो हुनेछ । बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित कारबाही गरिएका ११ जनाबाहेक नेपाल पक्षका नेतालाई पनि बोलाइएको छ ।
यद्यपि नेपाल पक्षका नेताले सो बैठकमा सहभागी नहुने बताएका छन् । ‘महाधिवेशन आयोजक कमिटीलाई नवौं महाधिवेशनको विधानले चिन्दैन,’ नेपाल पक्षका नेता ठाकुर गैरेले भने । उनका अनुसार एमालेको केन्द्रीय कमिटी मात्रै एमालेको विधानले चिन्नेछ । उनका अनुसार यो निर्णयसँगै पार्टीको विवाद मिलान गर्ने बिन्दुको सुरुवात भएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि एमाले अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको मात्रै बैठक बोलाएर पदाधिकारी सबै भंग गरी अध्यक्ष र महासचिव मात्रै कायम गरेका थिए । उनले त्यही बेला केन्द्रीय कमिटी विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
वरिष्ठ नेता खनाल र नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएपछि पार्टीको विवाद चरम उत्कर्षमा पुगेको छ । यसबीच ओलीले खनाल–नेपाललगायत ११ सांसदलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गरेका छन् । जेठ २७ गते सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि केन्द्रीय कमिटी ब्युँताउन ओलीमाथि दबाब परेको छ ।
एमालेभित्रको आन्तरिक विवाद सुल्झाउन ओली पक्षले हदैसम्मको लचकता अपनाएको जनाएको छ । तापनि नेपाललगायत केही नेता पार्टीभित्र रहने वा नरहने दोधार रहेको भन्दै उनीहरूले सग्लो एमालेको आवश्यकता रहेकाले पार्टीको सबै संरचना पुरानै अवस्थामा फर्काएको बताएका छन् । बुधबारको बैठकबाट ओली पक्षले गत फागुन २८ गतेका सबै निर्णय बदरभागी हुने गरी १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण भएको घोषणा गर्ने र पदाधिकारी तथा स्थायी कमिटीको बैठकसमेत बोलाउने बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS