कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।
आफ्नो जीवनको अधिकांश समय नेपाली खेलकुदको विकास र उन्नयनमा लागि पर्ने व्यक्तिलाई सो अवार्डबाट सम्मान गर्ने गरिएको छ । यस वर्षको अवार्ड केसीलाई प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले सिफारिस गरेको थियो । खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो सम्मान अर्पण गरिने मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी दिनुभयो ।
बागलुङकी भगवती राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्नुभएको छ । नवौँ राष्ट्रिय प्रतियोगितामा प्रथम, १२ औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाँचौँ राष्ट्रिय प्रतियोगितामा द्वितीय र १२औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गर्नुभएको थियो ।
यसैगरी अन्तरराष्ट्रियतर्फ सिड्नीमा भएको २७औँ ओलम्पिक खेलकुदमा सहभागी भएर राष्ट्रिय कीर्तिमानीसमेत कायम गर्नुभएको छ । विभिन्न सातवटा संस्करणका एसियन गेममा सहभागितालगायत साफ च्याम्पियन र अन्तरराराष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी हुनुभएको छ । खत्रीले २०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकका रूपमा खेलाडीलाई निःशुल्क प्रशिक्षणसमेत गराउँदै आउनुभएको छ ।
यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरू कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्ने गरिएको छ । नवौँ संस्करणको अवार्ड यही वैशाख २६ गते पोखरामा हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा परिचित छ ।
FACEBOOK COMMENTS