काठमाडौं, वैशाख २७ । नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्ने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल गर्न बैठक बसेको हो ।
संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौदेखि बस्ने बैठकले आज दिउँसो १ बजेको प्रतिनिधि बैठकमा चाल्ने कदमको रणनीति तयार गर्ने बताइएको छ । माधव र झलनाथ पक्षका सांसद प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने पक्षमा छन् ।
प्रधानमन्त्री ओलीले माधव र झलनाथ पक्षका नेतालाई सिंगो पार्टीबाट जिम्मेवारी मुक्त बनाएछि उक्त पक्ष रुष्ट बनेको छ । र, त्यसैको बदला लिन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाट राजीनामा दिने र ओलीलाई अल्पमतमा पार्ने योजनामा उक्त पक्ष लागेको देखिन्छ ।
आइतबार पार्टी एकताका लागि भन्दै माधव पक्षले अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । ९ बजेसम्म प्रधानमन्त्री ओलीले कुनै ठोस पहल नगरेपछि थप रणनीति बनाउन भेला भएका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS