काठमाडौं, असोज ७ – कक्षा १२ को परीक्षा कसरी लिने भन्नेबारे अझै छलफलमै भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख ८ गते नै तोकिएको कक्षा १२ को परीक्षा देशमा कोभिड-१९ महामारी फैलिएसँगै अनिश्चित बन्दै गएको छ ।
परीक्षा कुन विधिबाट गरिने भन्ने विकल्पहरुबारे अझै छलफल भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले परीक्षा गर्ने नै भएप नि दसैंअघि सम्भव नभएको भन्दै दसैंपछि मात्र परीक्षा हुन सक्ने बताए ।
विभिन्न सञ्चारमाध्यममा कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट गर्ने समाचार प्रकाशित भएको थियो । सो समाचारमा सत्यता नभएको शर्माको भनाइ छ । उनी भन्छन्, “कसले किन त्यो झुटो समाचार सम्प्रेषण गर्यो मलाई थाहा भएन । परीक्षा स्थगित यथावत नै छ । सो समाचारबारे हामीले खण्डन नै छापिसकेका छौं ।”
असोज १ गते खण्डन छापिएको छ । सो खण्डन बोर्डको वेबसाइटमा हेर्न सकिन्छ । खण्डनमा कक्षा १२ को परीक्षा स्थगित भएको र सञ्चारमाध्यमले आफूखुसी परीक्षा सञ्चालनका विधिहरुबारे काल्पनिक समाचार सम्प्रेषण भइरहेकोले त्यसप्रति परीक्षा नियन्त्रण कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
केही दिनअघि कक्षा १२ को परीक्षा १०० पूर्णांकमध्ये ४० पूर्णांकको अनलाइन प्रणालीबाट गरिने, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बर गणना गरी परीक्षा सम्पन्न गर्न सिफारिस गरिने समाचार आएको थियो । सोचनीय कुरा के हो भने बोर्डको समाचार सरकारी समाचार संस्थाा राष्ट्रिय समाचार समितिले परीक्षा नियन्त्रक शर्माको भनाइ राख्दै प्रकाशित गरेको थियो ।
चार लाख ३२ हजार विद्यार्थीले कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् । कक्षा १२ सम्मलाई माध्यामिक तहमा गाभेपछि र माध्यामिक तहको अन्तिम खुड्किलो हुनाले सो परीक्षा विद्यार्थीको लागि अत्यन्त महत्वपूर्ण छ । कक्षा १२ को नतिजाले नै स्वदेश तथा विदेशका विश्वविद्यालयमा भर्ना हुन पाउने भएकाले परीक्षा स्थगित भइरहँदा विद्यार्थी र अभिभावक चिन्तित छन् । तर बोर्डले भने अझै कुनै ठोस निर्णय लिन सकेको छैन ।
FACEBOOK COMMENTS