काठमाण्डौं – कन्साई नेरोल्याक पेन्ट्सलाई निर्धारण गरिएको आयकर तत्काल नउठान सर्वोच्च अदालतले ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश दिएको छ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको ४ करोड १८ लाख २१ हजार ४४१ रुपैयाँ आयकर तत्काल असुली नगर्न सर्वोच्चले भनेको हो।
कन्साई नेरोल्याकले प्रारम्भिक विवरणसहित २ करोड ८० लाख ४५ हजार ३३४ रुपैयाँ स्वयं घोषणा गरेको थियो। कम्पनीले औद्योगिक व्यवसाय ऐन २०४९ अनुसार उत्पादनमूलक उद्योगहरुले आयकरमा छुट पाउने व्यवस्था रहेको भन्दै त्यसैअनुसार कर निर्धारण हुने गरी विवरण घोषणा गरेको थियो।
कम्पनीले घोषणा गरेको विवरणअनुसार नभई कर कार्यालयले घोषित विवरणको अध्ययनपछि अन्तिम कर निर्धारण गरेको हो।
कर कार्यालयले गरेको कर निर्धारण र कम्पनीले गरेको घोषणामा १ करोड ३८ लाख रुपैयाँ फरक देखिन्छ।
आयकर ऐन २०५८ को व्यवस्थाअनुसार करदाता स्वयंले पहिले आफ्नो विवरणसहित लाग्ने कर घोषणा गर्ने र कर कार्यालयले विवरण अध्ययनपछि कानुनबमोजिम लाग्न सक्ने थप कर निर्धारण गर्न सक्दछ। कार्यालयले शंकास्पद विवरणमा अडिट गर्ने र कानुनबमोजिम भएको नदेखिए थप कर निर्धारण गर्न सक्ने व्यवस्था ऐनमा छ।
विशेष उद्योगलाई आयकरमा थप २० प्रतिशत छुट दिने औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्था कार्यान्वयन गरी कर निर्धारण गर्नुपर्ने मागसहित उद्योगले अदालतमा मुद्दा दायर गरेको थियो। रिटको प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले औद्योगिक व्यवसाय ऐनमा भएको छुट सुविधा गणनापछि कर निर्धारण गर्न अन्तरिम आदेश दिएको हो।
FACEBOOK COMMENTS