काठमाडौं, मंसिर १९- नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ ।
त्रिविस्थित कीर्तिपुर क्रिकेट ग्राउन्डमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनायो ।
भुटानका लागि रञ्जुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए भने सोनम टोब्गेले १५ तथा टोब्देन सिंग्येले ११ रनको योगदान दिए । अपेक्षाकृत कमजोर स्पर्धि भुटानले नेपाली बलिङ्ग आक्रमण समक्ष सम्हालिएको प्रदर्शन गर्दै पुरा २० ओभर खेल्न भने सफल भयो ।
नेपालका लागि ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थियो । पारस अर्धशतकीय पारि खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।
तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।
आजको खेलमा नेपालले तीन वटा रेकर्ड बनेका छन् ।टी २० क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लको पहिलो शतक हो भने नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो । यस्तै नेपालले सर्वाधिक धेरै रनको रुपमा रेकर्ड बनाएको छ ।
जितसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ । पहिलो खेलमा श्रीलङ्काबाट हार बेहोरेको नेपालले अब माल्दिभ्ससँगै बङ्गलादेशलाई जिते सहजरुपमा फाइनलमा प्रवेश पाउनेछ ।
FACEBOOK COMMENTS