काठमाडौं, चैत २५ – छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । बलिउडका स्टारहरु पनि एकपछि अर्को गर्दै कोरोना संक्रमित हुँदै आएका छन् ।
केही दिन पहिलेमात्र रणवीर कपूर गोविन्दा, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् । यसरी बलिउडमा कोरोना भाइरसले प्रवेश गरेसँगै कलाकारहरुले सावधानी अपनाउन थालेका छन् ।
यस्तैमा अभिनेत्री करिना कपूरले आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेकी छन् । तर, यतिबेला उनले लगाएको मास्क चर्चाको विषय बनेको छ । यसकारण चर्चामा आएको छ कि उनले लगाएको मास्कको मूल्य महँगो रहेको छ । हालै उनले कालो मास्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्, ‘प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’
करिनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ । ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मूल्य अमेरिकी ३५५ डलर रहेको छ । भारतको मूद्रामा यो मास्कको मूल्य २६ हजार र नेपालमा करिब ४१ हजार ६ सय पर्न जान्छ ।
गत २१ फेब्रुअरीमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी करिना नियमित काममा फर्किसकेकी छन् । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख १५ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ६३१ संक्रमितको ज्यान गएको छ ।
FACEBOOK COMMENTS