जनकपुर,कार्तिक १४ -जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।
चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाका दरले पाँचवटा समूह बनाइन्। प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको तीन वर्ष पनि बित्यो। तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन्। गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन्। बिस्तारै जसोधाले गाउँका समान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्यादरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन्। अत्यन्तै चतुर स्वभावकी जसोधाले पछि आफूलाई नै ऋण चाहिएको भनेर सबैसँग पैसा मागिन्। त्यतिबेला आफू संस्थाको सहजकर्ता कर्मचारी भएकाले ऋण सहजै निस्केको र बिनाझन्झट आम्दानी गर्ने उपाय आफूसँग रहेको भन्दै सबै सदस्यलाई उनले सुझाएको पीडित सुवेदा खातुन सम्झिन्छिन्।
खातुनले आफू आबद्ध चारवटा लघुवित्त बैंक र साहुबाट गरी तीन लाख २० हजार रुपैयाँ कर्जा लिएको बताइन्। उनले निर्धन लघुवित्तबाट ५० हजार, स्वावलम्बन लघुवित्तबाट ३० हजार, फर्वार्ड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र साहुसँग १ लाख रुपैयाँ गरी तीन लाख २० हजार ऋण लिइन्। खातुनले बैंक र साहुसँग लिएको पैसा जसोधालाई ३६ प्रतिशत ब्याजदरमा ऋण दिइन्। तर सबै रुपैयाँ लिएर जसोधा शान्तिपुर गाउँ छाडी भागेपछि खातुनको बिचल्ली भएको छ। ‘सर हामी त बरबाद भयौं, हाम्रो सबै पैसा डुब्यो,’ उनले रुँदै भनिन्, ‘पति अझै गाली गर्छन्, कहिलेकाहीं त कुटपिट पनि गर्छन्।’
शान्तिपुरकै जसोधाबाट पीडित ३५ वर्षीया जहिरा खातुनले पशुपालनको भरमा सातजनाको परिवार चलाउँदै आएकी छिन्। उनले पनि लोभमा परेर
नेरुडे लघुवित्तबाट ६० हजार, फर्वार्डबाट ५० हजार, छिमेकीबाट ३० हजार, ग्रामीणबाट ५० हजार र २० हजार सापटी गरी २ लाख १० हजार बनाएर जसोधालाई ऋण दिइन्। तर, पैसा नतिरी जसोधा भागेपछि जहिरा पनि चिन्तित बनेकी छिन्। ‘पैसाको कुरा चलेपछि मलाई चक्कर आउन थाल्छ,’ उनले भनिन्, ‘कहिलेकाहीं त सोच्दासोच्दै बेहोस पनि भइहाल्छु।’
ऋण लिएर ऋण लगाएका उनीहरू अहिले पैसा फिर्ता नपाएपछि कंगाल नै भएका छन्। ३६ प्रतिशत ब्याज आउने आस गरेका उनीहरूको सपना पूरा नहुँदै ऋण लिने व्यक्ति जसोधा फरार आफूहरू मारमा परेको पीडितले बताए। ‘हाम्रो पैसा लिएर जसोधा भागिन्। तर, सहकारीले पैसा मागेपछि गाउँकै साहुसँग ३६ प्रतिशत ब्याज दरमा ऋण लिएर तिरेको जसोधाबाट पीडित अर्की नजमा खातुनले बताइन्। ‘मैले ऋण काढेर लिएको २ लाख ८० हजार रुपैयाँ लिएर जसोधा भागिन्। त्यो सबै पैसा मैले ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर तिरेकी छु,’ उनले भनिन्, ‘गाउँका साहुले वास्तविकभन्दा चारगुणा बढी पैसा लिएको भनेर तमसुक गराएका छन्। भनेको बेला पैसा नदिँदा अलि हुसैन नामका साहुले गाई खोलेर लगे।’ आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS