काठमाडौं, मंसिर २२ – अघिल्ला वर्षहरु झैँ चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारअन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च गरेका छन् । तीमध्ये चालूतर्फ साढे ६ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पुँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।
यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशत मात्र बजेट खर्च भएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पुँजीगत खर्च शून्य छ । विनियोजित बजेटका आधारमा प्रदेश सभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
सचिवालयले प्रदेश सभा सदस्यहरुका लागि भत्ता र विभिन्न शीर्षकका सेवा–सुविधामा सो रकम खर्च गरेको हो ।
FACEBOOK COMMENTS