काठमाडौं, कात्तिक ६ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारबाट पाँच सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएको जानकारी दिए । प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उनले आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि समेत तयारी भइरहेको बताए ।
उनले भने, “२०७६ पुस १४ गते प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रम एमडी जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन तीन, एमडी एनेस्थेसिया एण्ड क्रिटिकल केयर एक, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीतर्फ एक सिटको कार्यक्रम अनुमति प्राप्त भएकाले अध्ययन अध्यापन अघि बढ्नेछ । व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर इन क्लिनिकल न्यूट्रिसनसमेत सञ्चालन गरिँदैछ ।”
सरकारले गत साउन ३० गते प्रतिष्ठानलाई स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको शैक्षिक योजनाको प्रतिवेदनअनुसार विसं २०७१ देखि २०७६ सम्म २६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका थिए । हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाइफरी अध्ययन गर्दै आएका छन् । जसमा स्टाफ नर्स २४० र हेल्थ असिस्टेन्ट १९२ जना छन् ।
रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड–१९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको जिकिर गरे । उनले पिसिआर परीक्षणदेखि विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्भावले थप काम गर्ने हौसला मिलेको बताए । रजिष्ट्रार काफ्लेले एमडीएमएस कार्यक्रमसहित एमबीबीएस पढाउने तयारी भइरहेको र सरकारले पूर्णरुपमा अगाडि बढाउने वचन दिएको बताए ।
FACEBOOK COMMENTS