ललितपुर,फागुन १७- पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा अकासे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ अकासे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ । सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खु खसीबजारमा अकासे पुल निर्माण गर्न लागेको हो ।
योजनाअनुसार एउटा अकासे पुल निर्माणका लागि साढे २ करोड रुपैयाँ लाग्नेछ । सरकारले कलंकी–कोटेश्वर सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा अकासे पुल निर्माण गर्ने तयारी गरेको छ ।
चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप ६ ठाउँमा अकासे पुल बनाउन सरकारले अग्रसरता लिएको हो । चिनियाँ कम्पनी सांघाई निर्माण सेवा समूहलाई काठमाडौं चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । योजनाले नै थप ६ स्थानमा अकासे पुलको जिम्मेवारी लिएको छ ।
चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोलमा अकासे पुलको निर्माण गरिसकेको छ । नयाँ बन्न लागेका अकासे पुलमध्ये पाँच स्थानमा जगको काम सकिएर पिलर निर्माण कार्य भइरहेको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा अकासे पुल निर्माणाधीन छन् । विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार चारै स्थानमा जग निर्माण सकेर पिलरको काम अघि बढेको छ । थप ६ वटा अकासे पुलमध्ये तीनवटाको निर्माण कार्य ९० प्रतिशत सकिएको उनले बताए । उनका अनुसार महालक्ष्मीस्थान र सानेपामा भने काम सुरु भइसकेको छैन । ती दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समयपछि काम सुरु हुनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS