काठमाडौं,मंसिर ३०- सोमबारदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनदेखि मौसम खराब बनाएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।
तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली तथा हुस्सु लागेको अवस्था छ । हाल देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।
हाल पूर्वी तराईका केहि भू-भागमा बाक्लो हुस्सुरकुहिरोको लागेको छ भने मध्य र पश्चिमी तराईका भू-भागमा सामान्य हुस्सु र कुहिरो लागेको छ। तराइका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जानेछ ।
सोमबार बिहान साढे ६ बजे काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्नेछ ।
FACEBOOK COMMENTS