काठमाडौं, असोज १५ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति तथा काँग्रेस र यससँग आबद्ध भ्रातृसंस्थाका नेताहरुले बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यान्न, भाँडाकुडाँ, सोलार लगायतका सामाग्री सहयोग गरेका छन् ।
नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मृतकका परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा सिन्धुपाल्चोक काँग्रेसका नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।
फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गरेका थिए भने बाँकी पार्टीका अन्य व्यक्तिहरुमार्फत संकलन गरिएको थियो ।
वितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति भूपेन्द्र थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र शिव शक्ति समूहको सहयोगमा प्राप्त भएको हो भने प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गराएका हुन् ।
उक्त सोलार बती सनसाइन इनर्जी प्रालि, नेपाल उर्जा विकास कम्पनी, शिखर रिन्युबल इनर्जी प्रालिले सहयोग गरेका थिए । नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालको पहलमा भाँडाकुडाँ, पोलार र विद्यार्थीलाई ट्रयाकसुट सहयोग गरेकी थिइन् ।
नेबिसंघ महामम्त्री तिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माबिका बिद्यार्थीहरु र इलाका प्रहरी कार्यालय बाह्र्बिसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगायतको सामाग्री प्रदान गरेका थिए ।
लायान्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ शम्भु प्रसाद घिमिरेबाट सो स्वास्थ सामाग्री सहयोग उपलब्ध भएको हो ।
प्राकृतिक विपत्तिले सिन्धुपाल्चोक लाई बर्षेपच्छिे पीडा दिएको र यसवर्ष पनि बाढी पहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुँदा काँग्रेस र यसका भातृसंस्थाहरु जनातका पीडामा संधै साथमा रहने पार्टी सभापति विकास लामाले बताए ।
पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन पनि आग्रह गरेको छ । विपत्तिमा परेका जिल्लाका जुनसुकै स्थानमा जनतालाई आफ्नो तर्फबाट राहत र सहयोग उपलब्ध गराउने तिमल्सिनाले बताए ।
FACEBOOK COMMENTS