काठमाडौं, मंसिर २७ – नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन भएको छ।
मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो।
उनको निधनप्रति काँग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
स्व. श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही २६, २७ र २८ मंसीरमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
त्यस्तै काँग्रेसले आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
श्रेष्ठ २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको आन्दोलनका क्रममा बमकाण्डमा पक्राउ परेका थिए। प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन÷संघर्षका क्रममा उनले ११ वर्षभन्दा बढी समयसम्म जेल जीवन बिताएका थिए।
उनी २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार र २०५६ सालमा काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको सभापति थिए। स्व. श्रेष्ठका एक छोरा र तीन छोरी छन्।
FACEBOOK COMMENTS