काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।
कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।
यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।
उनले सोमबार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो मन्डिखाटारस्थित निवासमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी हुन् ।
‘पार्टीभित्र नेतृत्व गर्न आकांक्षी धेरै हुनुहुन्छ, रामचन्द्रजी र सिटौलाजी पहिलेबाट नै पार्टीका लागि धेरै दुःख गरेर आउनुभयो, मैले सबै मिलेरै अघि बढौं भनेर उहाँहरूलाई भनेकी छु,’ नेतृ कोइरालाले राजधानीसँग भनिन् ।
उनले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रूपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजासहितको छलफल गरेकी आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS