१३ फागुन, काठमाडौं- पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।
बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।
प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।
यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।
FACEBOOK COMMENTS