काठमाडौँ,मंसिर १६ – विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाका अनुसार पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाएका थिए । उनले भने, “इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ काँग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।”
विसं १९८५ वैशाख ३० गते बाग्लुङको बिनामारेमा जन्मिनुभएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताउनुभएको थियो । विसं २०३६ को जनमतसङ्ग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ देखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति भएका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS