काठमाडौं,मंसिर १७ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । उनलाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेल सहितका प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई आज पक्राउ गरेको थियो । उनीहरुमाथी व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोप थियो ।
उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने । वरिष्ठ नेता पौडेलको गिरफ्तारीको खबरले नेपाली काँग्रेसमा हलचल पैदा भएको थियो ।
सबै काँग्रेसका नेताहरुले वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा सरकारको निन्दा गरेका थिए । नेपाली काँग्रेसले विज्ञप्ती जारी गर्दै नेता पौडेललाई गिरफ्तारी गरिएको घटना आपत्तिजनक र निन्दनिय भएको र सरकारको प्रवृति विरुद्द देशव्यापी प्रतिरोध गर्ने पनि चेतावनी दिएको थियो ।
FACEBOOK COMMENTS