काठमाडौं, वैशाख ३० – प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जान सक्छ ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए र सरकारका लागि दाबी नै गर्न सकेनन् ।
नवनियुक्त ओलीलाई भोलि दिउँसो २ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS