काठमाडौं, भाद्र २३ – जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे । उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् । बानेश्वरकी रिना कार्कीको घर पनि आँशिक खाली भएको छ । घरमा बसेकाहरु पनि यो भन्दा सस्तो भाडा पाएर अन्तै जाने हुन् की भन्ने त्रासले सताएको कार्की बताउँछिन् ।
राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् । उच्च शिक्षा, रोजगारी, बालबच्चाको राम्रो शिक्षालगायतको उद्धेश्य बोकेर कैयौँ मानिसहरु काठमाडौं उपत्यका भित्रिने गरेका छन् । काठमाडौलाई नै कर्मथलो बनाउनेहरु बढेपछि पछिल्लो समय काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ ।
मानिसहरुको अत्यधिक चाप भएपछि काठमाडौमा कोठा पाउन निकै मेहनत गर्नुपर्ने अवस्थासँगै चर्को भाडा असुल्थे घरबेटी । कतिपय घरबेटीको जिविकोपार्जनको मुख्य स्रोत नै घरभाडा बनेको थियो । तर, कोरोनाभाइरसको महामारीसँगै अहिले अवस्था फरक बनेको हो । अर्थात उपत्यकामा भाडामा लगाइने कोठाहरु खाली हुन थालेका छन् भने विगतको तुलनामा यस्तोमा पनि पाउन थालिएको छ ।
कोरोना माहामारीका कारण चैत ११ देखि भएको लकडाउनका कारण कैयौँ गाउँघर फर्केका छन् । व्यापार, व्यवसाय, शिक्षा, रोजगारी सबै बन्द छन् । कर्मथलोमा बाँच्न नसक्ने देखेपछि जन्मथलोतिर गएकाहरु फर्केका छैनन् । जसका कारण अहिले काठमाडौंमा घरभाडामा सहजै पाउन थालिएको हो । त्यसैले त सुवेदी र कार्की जस्ता कयौँ घरबेटीले अहिले भाडा घटाएरै भएपनि भाडामा बस्नेहरुलाई घरमा राखिरहेका छन् ।
घरमात्र होइन व्यावसायिक सटरहरुमा पनि अधिंकाश टु लेट लेखेर फोन नम्बर छोडेको देखिन्छ । काठमाडौमा झण्डै ४० प्रतिशत पसल तथा व्यवसाय खाली हुँदै गएको राष्ट्रिय व्यवसायी महासंघले बताउँदै आएको छ । कोरोनाअघिसम्म काठमाडौँमा कतिपयले घर भाडामा लगाएर राम्रो आम्दानी हुने लोभमा धमाधम घर समेत बनाए । तीनै घरबेटी अहिले घर खाली हुँदा अन्य घरमा बस्ने डेरावाललाई कम भाडादरको लोभ देखाएर तानिरहेका छन् । मानौँ अहिले काठमाडौँमा घरबेटीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ, जसरी बैंकहरुबीच ऋणी तानातानको प्रतिस्पर्धा चलिरहेको छ ।
डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार देशभर ६७ प्रतिशत डेरावाला छन् । अहिले काठमाडौंमा रहेका करिब १८ लाख मानिस बाहिरिएका छन् । त्यसमा १० लाख पुनः फर्कने सम्भावना रहेको छ । ‘कोरोना माहामारीपछि अहिले मानिसले जन्मथलो रोज्न थाले, पहिले कर्मथलो रोज्थे । आर्थिक रुपमा कर्मथलोमा अभाव भयो त्यसकारण जन्मथलो रोजे’, उनले भने, ‘ जन्मथलोमा कम्तिमा आफूसँग भएको जग्गा जमिन सदुपयोग गरेर भएपनि जीवन गुजारा त चल्छ ।’
FACEBOOK COMMENTS