काठमाडौं, ३० मंसिर – काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घटेसँगै हिजोभन्दा आज चिसो बढेको मौसमविद्ले जनाएका छन् ।
रातको समयमा आकाश खुलेकाले विहानको समयमा चिसो बढेको उनीहरुको भनाइ छ । सोमबार काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस थियो जुन् यस वर्षकै कम थियो तर आज त्योभन्दा पनि कम मापन गरिएको हो ।
तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्युनतम तापक्रम अझै घट्न सक्ने मौसमविद्ले बताएका छन् ।
आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । विहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो हुनेछ ।
पहाडी क्षेत्रको मौसम सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु र कुहिरो लागेको छ । विहानदेखि दिउँसोसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्ले सुझाव दिएका छन् ।
FACEBOOK COMMENTS