काठमाडौं, चैत १२ – पछिल्लो समय कोरोना संक्रमण पुन: बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड लागू गर्न कडाइ गर्ने भएका छन । होली पर्व नजिकिदै गर्दा सार्वजनिक स्थालहरुमा भिडभाड बढ्न सक्ने भएकाले कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
यसअघि काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रशासनको हिजो छुट्टाछुट्टै बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मेला, महोत्सव र भेला नगर्न, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
निर्देशन अवज्ञा गर्दै स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाहीसमेत गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस्तै नजिकिदै गरेको होली पर्व घरभित्रै परिवारका सदस्यहरुसँग मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
ललितपुरमा ११ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सार्वजनिक यातायातका चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अवज्ञा गरेको पाइएकाले यातायात व्यवसायी, मजदुरलाई बोलाएर आज सचेत गराइने पनि काठमाडौं प्रशासनले जनाएको छ ।
अहिले तत्काल सचेतनामुलक कार्यक्रममा जोड दिइने र पछि अवस्था हेरेर थप निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । उपत्यकामा आइशोलेन, क्वारेन्टिन बनाउने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।
भारतसँग सीमा जोडिएका जिल्लाले संक्रमण रोकथामका तयारी थालिएको छ । तर जनशक्ति अभाव र ठोस योजना नहुँदा तयारी सुस्त छ ।
FACEBOOK COMMENTS