काठमाडौं, पुस ३ – कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आज (शुक्रबार) देखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रूपमा गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसहरूको अत्यधिक भीडभाडलाई कम गर्दै सामाजिक भौतिक दूरी कायम गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं उपत्यकामा असोज ६ गतेबाट जोरबिजोर प्रणाली लागू गएको थियो ।
पछिल्लो समय सरकारी तथा निजी कार्यालयहरू पूर्णरूपमा खुल्दै गएको र जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्दा भीड बढ्दै गएकाले यातायात व्यवसायीहरूले यो प्रणाली हटाउन माग गरेका थिए । अन्य क्षेत्र खोल्दा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा सरकाको आलोचना भइरहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको यो निर्णयसँगै यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्णरूपमा पालना गरेर यातायात चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।
कार्यालयहरू खुल्दै गएको अवस्थामा सार्वजनिक सवारीमा भीडभाड पनि बढ्न थालेकाले जोरबिजोर हट्नु सकारात्मक भएको र यसले यात्रुलाई फाइदा पुग्ने महासंघले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS