काठमाडौं, चैत २० –एक हप्तादेखि फोहोर फाल्ने ठाउँको विवादले नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । शुक्रबार नै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए ।
सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन-तीन करोड पाउने भएका छन् ।प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलकाे पाेस्ट क्लाेजर गर्नेबारे पनि सहमति भएको छ ।
FACEBOOK COMMENTS