काठमाडौं, भदौ २८ – उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ। ४ महिना लामो लकडाउन हटेपछि भदौ ४ देखि जारी भएको निषेधाज्ञा २२ औं दिनमा केही खुकुलो भएको छ।
नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ। विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको छ। प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ।
खाद्यान्न, तरकारी र फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरू मात्रै भित्रिन दिएपनि चेकजाँच फितलो देखिएको छ। तर शनिबार नागढुंगा नाका भएर भित्रिने सवारीहरू प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो। उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दुरी नै कायम नगरेको पाइएको हो।
नाकाबाट भित्रिने सवारीहरूको विवरण उपत्यका भित्रिन दिइएको छ। चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो। उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यसो हुन सकेको छैन।
यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन। सरकारले नै जिल्लाभित्र मात्रै छोटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ। लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन। उता साँगा नाकामा सवारीको चाप कम देखिएपनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइँदैन।
FACEBOOK COMMENTS