काठमाडौं, साउन २४ – कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ ।
जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम र अत्यावश्यकबाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।
पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली सुरु गरेको थियो ।
शुक्रबारमात्रै उपत्यकाभित्रका तीनओटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यकबाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् ।
प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नपनि आग्रह गरेको छ ।
शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोनाभाइरस पुष्टि भएको थियो ।
असार २६ गतेबाट उपत्यकालगायत देशभरि जिल्लाभित्रमात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।
सरकारले आवश्यक मापदण्ड पूरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारी–साधनले स्यानिटाइजर प्रयोग नगरेको पाइएको छ ।
मास्क प्रयोग गरेको भएपनि स्यानिटाइजरको प्रयोग नगर्ने र बसमा दूरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ ।
शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन् ।
FACEBOOK COMMENTS