काठमाडौं, भदौ १८ – काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्यकर्मी पनि यसको चपेटामा आउन थालेका छन्। यो महिनामात्रै तीन सय ६८ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण देशभर फैलिएसँगै स्वास्थ्यकर्मीमा पनि देखिन थालेको थियो। काठमाडौं उपत्यकामा भने भदौदेखि धेरै देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भदौ १ देखि १६ गतेसम्मको तथ्यांकअनुसार, उपत्यकाका तीन जिल्लामा तीन सय ६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमा चिकित्सक पनि छन्। धेरैजसो काठमाडौं जिल्लाका रहेका छन्। स्वास्थ्य मन्त्रालयको तत्थ्यांकअनुसार, भदौ १ गते उपत्यकामा १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि संक्रमण हुने क्रम बढ्दै गएको छ। भदौ २ गते ४४ जना, ३ गते १९ जना, ४ गते ३१ जना र ५ गते १४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै, भदौ ६ गते २८ जनामा कोरोाना संक्रमण पुष्टि भएको थियो। जसमध्ये अधिकांश काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए।
‘त्यसयता निरन्तर धेरै स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिन थालेको छ,’ प्रा।डा।गौतमले भने। मन्त्रालयका अनुसार भदौ ७ गते २१ ज्ना, ८ गते २२ जना, ९ गते १४ जना र १० गते २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, भदौ ११ गते २० जना, १२ गते १२ जना, १३ गते १० जना र १४ गते १६ जनामा संक्रमण देखिएको तथ्यांक छ। भदौ दोस्रो साता स्वास्थ्यकर्मीमा संक्रमण घटेको भएपनि फेरि बढ्न थालेको छ। भदौ १५ गते २७ जना र १६ गते ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले बताए। कोभिडका बिरामीको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमा नै संक्रमण बढ्नु राम्रो नभएको उनले बताए।
‘कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुको संख्या बढ्दै जाँदा यसको उपचार तथा नियन्त्रणमा थप कठिनाई उत्पन्न भएको छ,’ प्रवक्ता गौतमले भने। पछिल्लो तीन सातायता काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको छ। देशका अन्य जिल्लाको भन्दा काठमाडौंमा संक्रमण हुने क्रम सबैभन्दा बढी छ। बुधबार मात्रै काठमाडौं उपत्यकामा तीन सय ८८ जनामा कोरोना देखिएको थियो। जसमध्ये काठमाडौंमा तीन सय ५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जना रहेका थिए। अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार पाँच सय ९३ पुगेको छ। जसमा काठमाडौंमा पाँच हजार दुई सय ६५, ललितपुरमा सात सय ७२ र भक्तपुरमा पाँच सय ५६ रहेका छन्।
कोरोनाबाट काठमाडौं उपत्यकामा ४२ जनाको मृत्यु भइसकेको छ। जसमध्ये काठमाडौंमा २६, ललितपुरमा सात र भक्तपुरमा नौ जनाले ज्यान गुमाएका छन्।
FACEBOOK COMMENTS