काठमाडौं, चैत १५ – काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । गत शुक्रबारदेखि निरन्तर रुपले काठमाडौं प्रदूषणको उच्च जोखिममा रहेको छ ।
आइतबार बिहान ९ः१५ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४० रहेको छ । काठमाडौं यसअघिदेखि निरन्तर प्रदूषित हुँदै आए पनि पछिल्ला केही दिनदेखि मुलुकका ४०० भन्दा बढी जंगलमा लागेको डढेका कारण थप प्रदूषित भएको हो । यसले स्वासप्रश्वासमा गम्भीर असर पारेको छ । चिकित्सकहरु घरबाहिर ननिस्कन सुझाव दिन्छन् । निस्कनै परे अनिवार्य मास्क लगाउन आग्रह गरिरहेका छन् ।
झ्यालढोकासमेत बन्द गरेर बस्न पनि उनीहरुले सुझाएका छन् । उपत्यकाभित्र प्रदूषण पसेपछि लामो समय रहिरहने भएकाले पनि यसले असर गरेको छ ।
आइतबार फागूपूर्णिमा भएकाले घरबाहिर निस्केर सामूहिक होली खेलिने भएकाले त्यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत कोरोना भाइरसकोे महामारीलाई ध्यानमा राखेर सामूहिक होली नखेल्न पनि आग्रह गरेको छ ।
FACEBOOK COMMENTS