बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ ।
डोरमणि पौडेल नेतृत्वको सरकारले चालु आव २०७८/७९ मा पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र १५ वटा चार्जिङ स्टेसनका लागि सामग्री खरिद र जडान प्रक्रियासमेतका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो ।
तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई उक्त योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए । उनले अघि भने, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हामीले हाललाई यो योजना स्थगित गरेका छौं ।’
हेटौंडा–काठमाडौं सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । पाण्डेका अनुसार यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरिएको छ ।
FACEBOOK COMMENTS