काठमाडौं, चैत १० – काभ्रेको धुलिखेलमा ४० करोड रुपैयाँको लगानीमा होटल ‘हिमालय दृश्य रिसोर्ट’ सञ्चालनमा आएको छ । तीन वर्षअघि निर्माण थालिएको होटल सञ्चालनमा आएको डेढ महिना भयो । होटलमा व्यवसायी क्षेत्रबहादुर थापा, श्यामकाजी महत, उमेश श्रेष्ठ र अशोक श्रेष्ठको लगानी छ । १८ रोपनी क्षेत्रफलमा फैलिएको होटलका उपाध्यक्ष क्षेत्रबहादुर थापाले जानकारी दिए । ‘बैंकबाट २० करोड रुपैयाँ लिएका छौं,’ थापाले भने, ‘बाँकी हामी चार जनाको लगानी हो ।’ धुलिखेललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन होटल सञ्चालनमा ल्याइएको उनले बताए ।
‘महामारी जस्ता समस्याका बाबजुद होटल सञ्चालनमा ल्याएका छौं,’ ३५ वर्षदेखि पर्यटन क्षेत्रमा बिताएका उनी भन्छन्, ‘आन्तरिक पर्यटनलाई बढावा दिन र पर्यटन क्षेत्रलाई लयमा ल्याउन हामीले पहल थालेका हौं ।’ काठमाडौंबाट ३० किमि दूरीमा रहेको होटलमा ४३ वटा कोठा छन् । त्यसमध्ये दुई वटा सुइट रुम छन् । सामान्य कोठाको ब्रेकफास्टसहित ५ देखि ६ हजार रुपैयाँसम्म पर्ने होटलले जनाएको छ ।
होटलबाट अन्नपूर्ण, गणेश, लाङटाङ, फुरिबिच्याचु र गौरीशंकर जस्ता हिमाल देख्न सकिन्छ । होटलले पर्यटकलाई आकर्षित गर्न हाइकिङ, साइक्लिङ, गाउँको भ्रमण जस्ता योजना तयार राखेको होटलका अर्का लगानीकर्ता श्यामकाजी महतले जानकारी दिए ।
होटलकै ५ रोपनी क्षेत्रफलमा अर्ग्यानिक तरकारी खेती गरी पर्यटकलाई तिनै उत्पादन खुवाउने आफूहरूको तयारी रहेको उनको भनाइ छ । थापा र महतको लगानीमा चितवनमा अर्को होटल सेन्टरपार्क रिसोर्टसमेत सञ्चालनमा छ ।
FACEBOOK COMMENTS