काठमाडौँ, माघ २२ –कामना सेवा विकास बैंकले माघ २२ गते (आज) देखि रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यमा ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो । कुल कित्तामध्य रू. ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. ४० करोड बराबरको ४ लाख कित्ता भने सर्बसाधारणमा विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको बैंकले जानकारी दिएको छ । सामूहिक लगानीकोषलाई बाँडफाँटपश्चात बाँकी ३ लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।
यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा माघ २६ र ढिलोमा फागुन ६ गतेसम्म विक्री खुला हुने यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एपमार्फत पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम जोखिम रहेको संकेत गर्ने केयर आरआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
FACEBOOK COMMENTS