काठमाण्डौँ – म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्ने कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माणले तीव्रता पाएको छ ।
म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २ सय २० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारणलाइन र सबस्टेसन निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेसन निर्माण भइरहेको छ ।
दानादेखि खुर्कोटसम्म १ सय १४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ मात्र निर्माण सम्पन्न भइसकेको र करिब एक दर्जन स्थानमा टावर निर्माण भइरहेको उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि दानादेखि खुर्कोट जोड्ने प्रसारणलाइन र सबस्टेसन निर्माण सुरु गरेको थियो ।
२ अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सबस्टेसनको पूर्वाधार, प्रसारणलाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण खरिदको कामलाई अघि बढाएका छन् ।
सन् २०१८ नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए ।
यो आयोजनाको अहिलेसम्म ६२ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS