काठमाडौं, ३० माघ- ‘रोज डे’ देखि ‘चकलेट डे’, ‘हग डे’ देखि ‘भ्यालेन्टाइन्स डे’ सम्म मनाउन उद्यत् नेपाली युवाले पश्चिमाले सुरु गरेको कुन ‘डे’ को विशिष्ट महत्त्व के थियो भनेर थाहा पाउन थालेको पनि दशकौं भइसक्यो। तर आफ्नै माटोले जन्माएको महत्त्वपूर्ण घटना–परिघटना, संस्कृति र सन्दर्भको जगमा आएका र मनाउन सकिने दिवस र पर्वभन्दा विदेशी मिथकमा सुरु भएको प्रेम र त्यागको अनमोल संगम मानिने ‘भ्यालेन्टाइन्स डे’ को नेपालमा हिजोआज जगजगी छ।
सारा प्रेमीप्रेमिकाले बडो रोमाञ्चकता र उत्सवकै रूपमा मनाउँदै आएको ‘भ्यालेन्टाइन्स डे’ सम्भवतः ‘क्रिसमस डे’ पछि सबैभन्दा बढी मनाइने विदेशी संस्कृति हुन सक्छ। नेपालमा मौलाउँदो सांस्कृतिक साम्राज्यबारे एउटा छुट्टै बहस र विश्लेषण गर्न सकिन्छ तर यो आलेखमा भने गहिरो प्रेम हुँदाहुँदै पनि जातकै कारण मारिएका नवराज–अजित–संगीता र शिवशंकर दासहरूको सम्मान र स्मृतिमा किन ‘नव–अजित डे’ नमनाउने भनेर विशेष गरेर युवालाई उद्वेलित गर्ने दुष्प्रयास हुनेछ।
नब्बे सालको भुइँचालोमा जेलमै जन्मिएका सामाजिक जीवनका रूपान्तरणकारी पात्र र चर्चित साहित्यकार हुन् जवाहर रोका। उनका पिताले अधिकारी थरकी उच्च जातकी कन्यासँग प्रेम गरेको सजायस्वरूप दुवैजनालाई मनुस्मृतिमा आधारित जातीय उचनीच कानुनको जगमा राणाकालीन शासकले पूर्वीनेपालको चैनपुर जेलमा थुन्यो। जवाहर रोका तिनै ऐतिहासिक पात्र हुन्, जो आमा र बाबुको कथित विजातीय प्रेमको सजायस्वरूप जेलमा कोचिएका रोका–अधिकारी दम्पतीको प्रेमोपहार बनेर जेलमै जन्मिए।
तिनै जवाहर रोका पछि चर्चित साहित्यकारका रूपमा उदाए। उनले लेखेका समाजपयोगी, रूपान्तरणकारी, समता र मानव मर्यादामा आधारित आधा दर्जन कृति नेपाली समाजको निधि बनेको छ। जवाहर रोका कृत ‘वारन्ट’ कथा संग्रह, ‘फेसुआ’ उपन्यास, ‘सुवासको सिन्दूर’ खण्डकाव्य र ‘छोइछिटोको अन्त्य’ प्रबन्धात्मक कृति समाजपयोगी छन्। जवाहर रोकाबारे रविमान लमजेल, उर्मिलादेवी विश्वकर्माहरूले गरेको अनुसन्धानलाई पछिल्लो पुस्ताले निरन्तरता दिएको छैन, राज्य त कति अनुदार छ भनेर हेर्न प्रधानमन्त्री ओली अनुहार नियाले पुगिहाल्छ।
नेपाल एउटा यस्तो देश हो; जहाँ कथित विजातीय प्रेम गरेकै कारण रुढिवादी समाज हत्यामा उत्रन आजपर्यन्त किञ्चित सरम मान्दैन बरु जातकै लेपमा आफूहरू सबैभन्दा ठूलो भन्दै निकृष्ट अहंकारको फणा फुलाइरहन्छ र भन्छ, तँ ‘सानो जात’ म ‘ठूलो जात’ अर्थात् म जन्मजात ठूलो तँ सानो। जातको जाँतो, जातीय जञ्जिर र जातको जालोले नेपाली समाजलाई यति धेरै गाँजेको छ कि जाततन्त्र अहिले पनि सबैभन्दा शक्तिशाली छ प्रत्यक्ष या परोक्ष।
यसो सोचौं त, ८५ वर्षअघि कति चरम जातीय विभेद थियो होला कल्पना पनि गर्न सकिन्न, जहाँ जातकै आधारमा कानुनको अभ्यास गरिन्थ्यो। रुढीवादी समाज कजाउन कथित निम्न जातिलाई बाँध्न धर्म र परम्पराको जगमा बनाइएका कानुनको आडमा जेलमा कोचिएका विजातीय प्रेमका अनमोल जोडीलाई कति मारियो होला कति डाँटा कटाइयो होला, त्यतिबेला जेलमै मारिदिएको भए के जवाहर रोकाको कृति नेपाली समाजले पाउँथ्यो ?
FACEBOOK COMMENTS