काठमाडौं, २१ मंसिर – आउँदो डिसेम्बर १० तारिख देखि काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करणको आयोजना हुने भएको छ । कोभिड-१९ को महामारीको अहिलेको अवस्थालाई मध्येनजर गर्दै यस पटकको किम्फ भर्चुअल रुपमा आयोजना हुने भएको हो ।
यस पटक १५ मुलुकका १८ वटा चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन् । त्यस बाहेक ‘नेपाल
पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरु देखाइनेछ ।
फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी तथा वक्ताहरुसँग भर्चुअल अन्तरक्रिया समेत हुनेछ भने सँगसँगै परिसंवाद कार्यक्रम समेत सञ्चालन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा प्रदर्शन हुने फिल्महरु भिमिओमा किम्फ डट ओआरजीमार्फत निःशुल्क हेर्न सकिनेछ ।
यस बाहेक किम्फ फिल्म फेस्टिभलको आधिकारिक वेबसाइटमा समेत फिल्महरु हेर्न सकिनेछ । हरेक दिन एउटा प्याकेजको रुपमा पाँच दिनसम्म फिल्महरु प्रदर्शन गरिने र वेबसाइटमा राखिएको पाँच दिनसम्म दर्शकले फिल्म हेर्न सक्ने फेस्टिभल कोअर्डिनेटर निशिता थापा मगरले जानकारी दिइन् ।
अन्तर्राष्ट्रिय चलचित्रहरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रीडाकर्महरु समेटिएका छन् । यसैगरी नेपाल पानोरामामा फेरी एक पटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरुको प्रस्तुति देख्न पाइनेछ ।
यस पटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा ‘अग्नेस्ट डेस्पेयर, टुवार्ड्स होप’ रहेको छ । हालको कोरोना भाइरसको महाव्याधिले उत्पन्न गरेको संकटसँग जुध्दै आशा र विश्वासका साथ अगाडि बढ्ने ध्येय यो नारामा प्रतिबिम्बित भएको छ ।
किम्फ २०२० को उद्घाटन विश्वविख्यात भुटानी फिल्म निर्देशक खेञ्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्गस एण्ड अ मस्ट्याच’ को प्रदर्शनबाट हुनेछ । यो चलचित्रको पुरै छायांकन नेपालमै भएको थियो ।
फेस्टिभल उद्घाटनका क्रममा रिम्पोचेले भर्चुअल प्रवचन समेत दिने कार्यक्रम राखिएको छ । डकुमेन्ट्री तथा फिक्सन फिल्मबारे नेपाली युवा फिल्म मेकरहरुमाझ छुट्टा छुट्टै परिसंवाद समेत महोत्सवको कार्यक्रममा समावेश गरिएको छ ।
दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महत्सवको अवसरमा गरिनेछ । यसैगरी कोभिड १९ र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरुको प्रदर्शनपछि तिनबारेका फिल्म वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरुमाझ छलफल र विमर्श पनि गरिने कार्यक्रम छ ।
यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार तथा फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहनेछन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीन वटा चलचित्र तथा नेपाली पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनौट गर्नेछ ।
अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ र एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त पुरस्कार राशी क्रमशः नेपाल पर्वतारोहण संघ, हिमालयन इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (एचआईएमएफ) र स्वीट्जरल्याण्डका व्यवसायी उर्सुला तथा फ्रेडी ओहल्याण्डद्धारा उपलब्ध गराइएको हो ।
उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशी क्रमशः एक लाख र ७५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार क्रमशः मिला प्रडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराउनेछ ।
किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नामक विश्व संस्थाको सक्रिय सदस्य रहेको छ । उक्त संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य रहेका छन् ।
यस वर्ष धेरै मुलुकका माउन्टेन फिल्म फेस्टिभलहरुले कोभिड १९ का कारण भर्चुअल रुपमा फेस्टिभलहरु आयोजना गरिरहेका छन् । फेस्टिभलमा देखाइने चलचित्रहरुले यस अघि झैं दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक विषयहरुतर्फ दर्शकको ध्यान आकर्षित गर्ने विश्वास छ ।
फिल्म तथा डकुमेन्ट्रीले उठाएका विषयउपर संवाद र विमर्शको उठान गर्न समेत सघाउने आशा किम्फ आयोजक समितिले राखेको छ ।
FACEBOOK COMMENTS