काठमाडौं, वैशाख २८ – कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर विस्तृत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न राष्ट्रिय किसान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छिन् । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै मन्त्री अर्यालले सोमबार यस्तो निर्देशन दिएकी हुन् ।
करिब दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गरिन् ।
आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा सपथग्रहण गरेका हुन् । मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराएकी हुन् ।
त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका थिए । आयोगका रिक्त अध्यक्षसहित सदस्यहरुको गत वैशाख १९ गतेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो ।
FACEBOOK COMMENTS