काठमाण्डौं- सरकारले उखु किसानलाई राहतस्वरूप भ्याट नलाग्ने व्यवस्था गरेको छ । तर, सो व्यवस्थाको लाभ किसानले लिन पाएका छैनन् ।
चिनी उद्योगीले उत्पादन गरेको चिनी बिक्री गर्दा लाग्ने भ्याटको ७० प्रतिशत फिर्ता गर्ने व्यवस्था गरेको छ । सो अनुसार ५२ रूपैयाँमा बिल काटिएको चिनीको मूल्य ४८ रूपैयाँ मात्रै पर्ने गरेको छ । प्रतिकिलो चार रूपैयाँ ३२ पैसा चिनी उद्योगले फिर्ता लिँदै आएका छन् ।
चिनी उद्योगीहरूले भारतीय चिनी अवैध रूपमा नेपाल भित्र्याएर नेपालमा उत्पादित भनेर नक्कली धन्दा गर्दै भ्याट बिल काटेर बिक्री गरिएको छ । भ्याट बिल काटेको कुल भ्याट रकममध्ये ७० प्रतिशत छुट व्यापारीले लिँदै आएका छन् ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, राजकुमार अग्रवाललगायतको समूहले भारतीय चिनी नेपाल भित्र्याएर किसानको नाममा प्राप्त हुने भ्याट छुटको फाइदा लिइरहेको बारेमा भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व विभागले कुनै चासो लिएको छैन । यी निकायका हाकिमहरूले े उनीहरूसँग मिलेमतो गरेर कमाउने गरेको स्रोतको दाबी छ ।
चिनी उद्योगीहरूले प्रतिक्विन्टल चार सय ३२ रूपैयाँ राज्यकोषबाट फिर्ता लिँदै आएका थिए । किसानबाट खरिद गरेको उखुको अर्बौं रकम समेत भुक्तानी नगरेका त्यस्ता चिनी उद्योगले भटाभट भारतीय चिनी ल्याएर भ्याट फिर्ताको फाइदा लिइरहेको बारेमा अब अख्तियार दुरूपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने माग आन्तरिक राजश्व विभागका कर्मचारीहरूको रहेको छ ।
औपचारिक तथ्याङ्क आउन नसके पनि चिनी उद्योगहरूबाट वार्षिक करोडौं रूपैयाँ भ्याट अवैधरूपमा फिर्ता भइरहेको छ । प्रतिटन चार हजारभन्दा बढी रूपैयाँ नेपाल सरकारबाट रकम फिर्ता पाउने र त्यसमाथि प्रतिकिलो सात रूपैयाँ नाफा हुने हुँदा चिनी कारोबारीहरू सीमा क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग मिलेर तस्करीको बाटोबाट भित्रिएको अवैध चिनीको कारोबारबाट मालामाल हुँदैछन् । भारतीय बजारमा प्रतिकिलो चिनीको मूल्य २८ भारु पर्दछ । थोकमूल्य अझै कम पर्नसक्ने व्यवसायीहरू बताउँछन् ।
चिनी उद्योगहरूले सरकारलाई चिनी उत्पादन लागत अडिट गर्न समेत नदिने गरेको स्रोतले बताएको छ । अडिट गराउँदा भारतबाट तस्करी गरी ल्याएर बिक्री गरी भ्याटफिर्ता लिएको पोल खुल्ने भएकाले पनि चिनी उद्योगहरूले नदिएका हुन् ।
नेपालमा सञ्चालित चिनी मिलहरूमा एभरेष्ट सुगर मिल रामनगर महोत्तरी, इन्दुशंकर चिनी मिल सर्लाही, हिमालय सुगर मिल चोहर्वा सिराहा, श्रीराम सुगर मिल रौतहट गरुडा, लुम्बिनी चिनी कारखाना नवलपरासी, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टिलरिज नवलपरासी, इस्टर्न सुगर मिल सुनसरी अमाहीबेला, रिलायन्स सुगर मिल बारा मनहर्वा, बागमती सुगर मिल नवलपरासी, महालक्ष्मी सुगर मिल, भागेश्वरी सुगर कन्चनपुर छन् ।
FACEBOOK COMMENTS