काठमाण्डौँ — उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्।
लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्।
किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए।
राष्ट्रिय किसान आयोग र पोल्ट्री व्यवसायीको छाता संगठन नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रिय समितिसँग किसानका समस्या समाधान गर्न भएको छलफल र बैठकपछि आन्दोलन तत्काललाई स्थगित गरिएको नेपाल कुखुरापालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनकप्रसाद पौडेलले जानकारी दिए।
राष्ट्रिय किसान आयोगले कुखुरापालन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय अनुगमन समिति र राष्ट्रिय स्तरमा मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउने निष्कर्ष छलफलबाट आएको उनले बताए।
आयोगले किसानका समस्या अध्ययन गरेर तयार पार्ने प्रतिवेदन कृषि मन्त्रालयलाई पेश गर्ने समझदारी पनि भएको उनले बताए ।
— नागरीक
FACEBOOK COMMENTS