काठमाडौं, असोज २६ – सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिबन्ध केही खुकुलो बनाएको छ । कूटनीतिक क्षेत्रले आयात गर्न पाउने गरी महँगा गाडी आयातमाथिको प्रतिबन्ध खुकुलो गर्ने निर्णय गरेको हो ।
असोज तेस्रो साताको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कूटनीतिक नियोग, कूटनीतिक सुविधा प्राप्त संघसंस्था र त्यहाँ कार्यरत कर्मचारीले महँगा गाडी आयात गर्न पाउने निर्णय गरेको जानकारी दिए । अघिल्लो वर्ष चैत दोस्रो साताको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेको भन्दै महँगा गाडी आयातमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सम्पूर्ण सवारीसाधन आयातमाथि प्रतिबन्ध लगाएको थियो ।
महँगा र विलासी गाडीको आयातका कारण नेपाली मुद्रा बाहिरिएको र यसले अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै सरकारले विलासी गाडी आयातमा निरुत्साहित गर्न प्रतिबन्ध लगाउने निर्णय भएको बताएको थियो । तर, उक्त निर्णयबाट कूटनीतिक नियोगलाई कठिनाइ परेको बताउँदै प्रवक्ता ज्ञवालीले अन्य प्रतिबन्ध यथावत् राख्दै कूटनीतिक क्षेत्रको प्रयोजनका लागि आयात खुकुलो गरेको बताए ।
उनले बन्देज लगाइएको सूचनाको खण्ड च को पैठारी हुने अमेरिकी डलर ५० हजारभन्दा बढी सवारीसाधनको आयात पछाडि कूटनीतिक प्रयोजनका लागि आयात खुला गरिने वाक्यांश थप्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘विदेशी कूटनीतिक नियोगहरू, कूटनीतिक सुविधा प्राप्त अन्तरराष्ट्रिय संघसंस्था एवम् त्यहाँ कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीहरूले निजी प्रयोजनका लागि ल्याउने ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधन आयात गर्न पाइनेछ ।’ यस्ता सवारीसाधन वर्षमा बढीमा ३ सयओटासम्म मात्र आयात हुने गरेका थिए । नेपाल आइपुग्दा रू. २ करोडभन्दा बढी मूल्य पर्ने यस्ता सवारीसाधन सरकारी अधिकारी र ठूला व्यवसायीले चढ्ने गरेका छन् ।

अटो व्यवसायीहरूले भने अन्य प्रतिबन्धलाई यथावत् राखी कूटनीतिक प्रयोजनका लागि मात्र सवारी आयात फुकुवा गर्नु असान्दर्भिक भएको बताएका छन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले व्यवसायलाई स्वतन्त्र छाडेर चढ्न सक्नेलाई गाडी खरीद गर्न दिनुपर्ने बताए । ‘सर्वसाधारणलाई प्रतिबन्ध हुने सरकारी मान्छेहरूलाई नहुने भन्ने हुन्छ ?’ उनले भने, ‘सरकारले तोकेको कर तिरेर कोही गाडी आयात/खरीद गर्न चाहन्छ भने त्यसलाई रोक्नु हुँदैन ।’
