काठमाडौं, जेठ २१ – कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको दाबी गरेकी छिन् । केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछि कृषिमन्त्री अर्यालले आज शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन तथा निरीक्षण गरेपछि यस्तो अभिव्यक्ति दिएकी हुन् ।
कम्पनीमा मौज्दात रहेको मलको निरीक्षणपछि आयोजित पत्रकार सम्मेनमा उनले यो सिजनका लागि मलको कुनै समस्या नभएको समेत स्पष्ट पारेकी छिन् ।
कोभिड–१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालको भनाइ छ । ‘यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्य र प्रमाणले खेतीबाली लगाउने बेलासम्मका लागि कुनै समस्या छैन,’ मन्त्री अर्यालले भनिन्, ‘मलको वितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौं ।’
कोभिडका कारण वितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आएको भन्दै मन्त्री अर्यालले त्यसलाई तत्काल समाधान गर्नेगरी आफूहरू अगाडि बढिसकेको बताएकी छिन् । अहिले त्यो समस्या पनि समाधान भइसकेको उनको दाबी छ । कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा वितरणमा समस्या देखिएको गुनासो तथा टिप्पणी आए पनि अहिले त्यसको समाधान भइसकेको उनको भनाइ छ ।
आफू मन्त्रालयको नेतृत्वमा आएदेखि नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मल वितरण गर्दा दैनिक आपूर्ति र वितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन समेत दिइन् । कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपूर्तिमा ध्यान दिन उनले कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।
‘मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजीकरण गरिसकेका छौ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुस,’ मन्त्री अर्यालले भनिन्, ‘जुनसुकै ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सृजना नहोस् । यसमा तपाइँहरु सचेत रहनुहोला ।’
FACEBOOK COMMENTS