काठमाडौं, मंसिर १९ – रुकुम पश्चिमका कृषकले सहुलियत ऋण पाउने भएका छन् । विभिन्न कृषि उद्यमका लागि जिल्लाका कृषकले विभिन्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने भएका हुन् । कृषिमा व्यावसायिकता बढाउँदै उत्पादनमा वृद्धि गर्ने र आयआर्जनमा सुधार गर्न जिल्लाका ६ वटै स्थानीय तहले विभिन्न बैंकसँग सहुलियत ऋणका लागि सम्झौता गरेका छन् ।
चौरजहारी नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक, मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाले ग्लोबल आइएमई बैंक, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले लक्ष्मी बैंक तथा सानीभेरी गाउँपालिकाले सनराइन बैंकसँग सम्झौता गरेका छन् ।
पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा ६ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले बैंकहरूसँग सम्झौता गरेका हुन् । बैंकहरूले नेपाल सरकार सहुलियत कर्जा प्रवाहसम्बन्धी कार्यविधि २०७७ अनुसार सम्झौताबमोजिम ऋण उपलब्ध गराउनेछन् । ब्याजदर बैंकअनुसार फरक–फरक हुनेछ । ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुने स्थानीय तहहरूले बताएका छन् ।
जिल्लाका लागि कृषि नै समृद्धिको आधार भएकाले कृषिमा लगानी बढाउन यस्तो कदम लिइएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । ‘कृषिबाटै समृद्धिको सपना देखेका छौँ, त्यसलाई साकार पार्नका लागि कृषिमा लगानी बढाउन खोजेका हौँ,’ उनले भने, ‘सहुलियतमा ऋण लगानी गर्न बैंकहरू तयार भएका छन्, अब कृषिमा लगानी बढ्छ, यसले जिल्लावासीको आर्थिक स्थितिमा सुधार आउने विश्वास लिएका छौँ ।’
FACEBOOK COMMENTS