काठमाण्डौँ — प्रदेश नम्बर ३ सरकारले कृषि उत्पादन वृद्धि गर्नका लागि विभिन्न योजना ल्याएको छ ।
विषादीको अवशेष परीक्षण तथा माटो परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयारी थालेको हो ।
मन्त्रालयले माटो परीक्षणका लागि प्रदेशका १३ वटै जिल्लामा मोबाइल भ्यान सञ्चालन गर्नेदेखि सबै जिल्लामा कोल्डस्टोरको व्यवस्थासमेत गर्न लागेको जनाएको छ ।
कृषि उत्पादनमा विषादीको अत्यधिक प्रयोग भइरहेको र उत्पादनमा समेत ह्रास आउन थालेकाले त्यसलाई नियन्त्रण गर्न माटो परीक्षण तथा विषादी परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिने तयारी भएकोे मन्त्रालयका योजना तथा अनुगमन प्रमुख निर्मल गदालले जानकारी दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि चालू आवमा २ अर्ब ६० करोड रुपैयाँ कार्यक्रम खर्चका लागि विनियोजन भएको छ ।
मन्त्रालयले ५ स्थानमा अवशेष प्रयोगशाला र १० स्थानमा माटो परीक्षण प्रयोगशाला स्थापनाका लागि कामअघि बढाएको जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS