काठमाडौं, मंसिर ९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत सहित ८ जना बिरुद्द भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।आयोगले शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना बिरुद्ध मुद्दा दायर गरेको हो ।
बैंकमा घोटला गरेको अभियोगमा ८ जना कर्मचारी विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानिनोक्सी पुर्याएको अख्तियारको दाबी छ।
कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर भएको छ । शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो।
शाखा अधिकृत गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट इसीसी मार्फत भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ ।
त्यस्तै बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारले जनाएको छ ।

अख्तियारले गौतम र बानियाँसंगबाट समान ३३ करोड ९३ लाख बिगो माग गरेको छ । त्यस्तै अख्तियारले सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापा बिरुद्द पनि मुद्दा दायर गरेको छ । उनीहरुसंग पनि अख्तियारले समान ३३ करोड ९३ लाख बिगो माग गरेको छ ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी र्पुयाएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सजायको मागदावी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

