काठमाडौं, जेठ १ – केएल दुगड समूहले कोहलपुरमा सञ्चालित सहुलियत खाना कार्यक्रमका लागि दुई महिनालाई पुग्ने खाद्यान्न सहयोग गर्ने भएको छ । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तलाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गर्दै आएका सहुलिय खाना कार्यक्रमका लागि दुगड समूहले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।
बाँके र आसपासको जिल्लाहरूबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका हुन् । प्रत्येक दिन बिहान २०० जना र बेलुका २०० जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको कार्यक्रम स्थानीय अशोक कोइरालाले बताए । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको अवस्था देखेपछि हामीले अभियान चलायौं,’ कोईरालाले भने ।
सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रूपैयाँमा उपलब्ध हुने र संक्रमितहरूका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ । कार्यक्रममा २ महिनालाई आवस्यक पर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगञ्जस्थित अन्य उद्योगी व्यवसायीहरूले सहयोग गरेका छन् ।
संक्रमित र संक्रमितका कुरुवाले भोग्न परेको समस्यालाई दृष्टिगत गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत दुई महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड गु्रपका प्रबन्धक प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानीय समाजसेवी तथा नेता साथीहरूले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं,’ छाजेडले भने ।
बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरूले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।
FACEBOOK COMMENTS