काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका प्रा.डा. रामकण्ठ माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा बालचन्द्र लुईंटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेको हो ।
सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुईंटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए । विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेका थिए । कमिटि सदस्यमा विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।
माकाजुको केहि दिनमा दोस्रो कार्यकाल सकिँदैछ । माकाजु विश्वविद्यालयमा तेस्रो कार्यकालका लागि उपकुलपति बन्ने प्रयासमा छन् । एउटै व्यक्तिलाई दुई भन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी बिरोधमा छन् ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ‘एक व्यक्ति एक पद, अधिकतम दुई कार्यकाल’ हुनुपर्ने माग गरिरहेका छन् । छनोट समितिले सिफारिस गरेका व्यक्तिमध्ये एक जनालाई कुलपतिले चार वर्षका लागि नियुक्त गर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS