काठमाडौँ– चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।
रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएका हुन्।
नेपाल–चीन रेल्वे को–अपरेशन समितिको बैठक शुरु भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले आधिकारिक प्रतिवेदन प्राप्त भएको र त्यसलाई थप प्रक्रियामा लैजानसमेत मार्गप्रशस्त भएको बताए।
बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनमा आधारित भएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको मार्गदिशा तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको थियो । चिनियाँ प्राविधिकसहितको टोलीले रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्नेसमेत कार्यक्रम तय गरेको छ ।
चिनियाँ प्राविधिक टोली रसुवा र काठमाडौँ–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ ।
केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।
लगानी र निर्माण ढाँचालगायतका विषयमा छलफलका लागि मार्गप्रशस्त भएको जानकारी दिँदै रेल विभागका प्रवक्ता चित्रकारले भने, “प्रक्रियामा प्रवेश गरेको छ । कुन प्रक्रिया र ढाँचामा अगाडि जाने भन्ने विषय पनि निकट भविष्यमा निक्र्योल हुन्छ ।” –
रासस
FACEBOOK COMMENTS