काठमाडौं – केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्भव तर जटिल देखिएको छ ।
चीनले तयार पारेको केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ । चीनले तयार पारेको यो प्रतिवेदन एक साता आगडि नै नेपालाई दिइसकेको छ ।
यही प्रतिवेदनमाथि थप छलफल गर्न नेपाली प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेको छ ।
यो प्रतिवेदनले अहिलेसम्मकै जटिल र कठिन रेलमार्ग भए पनि चिनियाँ पक्षले यसलाई बनाएर नयाँ अनुभव लिन चाहेको भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले बताए ।
‘आर्थिक लाभका दृष्टिले हेर्ने हो भने तत्काल यो रेलमार्ग निर्माणको सम्भावना नभए पनि कूटनीतिक हिसाबले र अन्तर्राष्ट्रिय रेलमार्गको सञ्जालमा नेपाललाई जोड्न निम्ति अत्यावश्यक देखिन्छ’, सचिव अधिकारीले भने ।
यो रेलमार्ग बनाउन कठिन भए पनि चीनले अहिलेसम्मको असहज अवस्थामा रेलमार्ग बनाएको अनुभव लिन चाहेको र नेपालको पनि राष्ट्रिय महत्वको विषयका रूपमा केरुङ–काठमाडौं रेलमार्ग अगाडि सारेकाले निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक भएको उल्लेख छ ।
चीनको सियानमा हुने एक गोष्ठीमा यही रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन विषयमा केन्द्रित रहेर प्रस्तुतीकरण हुनेछ । यस प्रतिवेदनपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई पक्षीय छलफल गर्न टोली चीन प्रस्थान गरेको हो ।
नेपालको ट्रान्सहिमालय रुटमा पर्ने यो रेलमार्ग भौगोलिक बनावटले पनि निर्माणमा कठिन देखिएको छ । भारतीय र तिब्बतियन प्लेट वार्षिक १७ देखि २२ मिलिमिटर सरिरहेको हाम्रो नापी विभागको सर्वेक्षणले देखाइसकेको छ । यही शक्तिका कारण बेलाबेला भूकम्प जाने गर्छ । यही कठिन भूबनोटमा चिनियाँ रेल ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको पनि प्रतिवेदनले आंल्याएको उल्लेख छ ।
यस अघि भारतीय र चिनियाँले जति रेलमार्ग बनाएका छन् । सबै आफ्नै सीमाभित्र बनाएका छन् । अब यसलाई नेपालसँग जोडेर ल्याउनुपर्ने अवस्था छ । यो भुटानदेखि अफ्गानिस्थासम्म फैलिएको हिन्दूकुशको टेक्टोनिक प्लेटमा छ । यही प्लेट क्रस भएर यो चिनियाँ रेलमार्ग बन्नुपर्ने भएकाले पनि निर्माण चुनौतीपूर्ण छ । – अन्नपूर्ण पाेष्ट
FACEBOOK COMMENTS