काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका ३९ स्वास्थ्यकर्मीको निधन भएको छ । २०७६ माघ ८ गतेदेखि हालसम्म १२ चिकित्सक र २७ अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन सय नौ दिनसम्म चलेको कोरोना भाइरसको पहिलो छालमा १२ जना स्वास्थ्यकर्मीको निधन भएको सरकारी तथ्यांक छ । तर, दोस्रो छालमा थप २७ स्वास्थ्यकर्मीको निधन भएको हो । यो अघिल्लो वर्षको अनुपातमा दोब्बर बढी मृत्यु हो । मृत्यु भएका स्वास्थ्यकर्मी २५ जना ५० वर्षभन्दा कम उमेर समूहका छन् । ८० वर्षभन्दा कम उमेरका ११ जना छन् । अरू त्योभन्दा माथि उमेर समूहका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार हालसम्म आठ हजार आठ सय नौ स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । संक्रमित हुने दुई हजार दुई सय ९२ चिकित्सक र ६ हजार पाँच सय १७ जना अन्य स्वास्थ्यकर्मी छन् ।
नेपालमा ९ माघ ०७६ मा पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए । त्यसयता निरन्तर संक्रमण देखिइरहेको छ । हालसम्म तीन लाख ६९ हजार सात सय ६७ जना पुरुष र दुई लाख ३७ हजार ११ जना महिला कोरोना संक्रमणमा परेका छन् ।
सहप्रवक्ता अधिकारीका अनुसार पाँच लाख २७ हजार एक सय ११ जना निको भएर घर फर्केका छन् । घर फर्कने दर ८७ प्रतिशत हो । हालसम्म कोरोनाबाट आठ हजार तीन सय ६६ जनाको मृत्यु भइसकेको छ । अझै एक हजार दुई सय ६ जना सघन उपचार कक्षमा रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS