काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का बिरामी आउन छोडेपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र काठमाडौं महानगरपालिकाले संयुक्तरूपमा सञ्चालन गरेको क्षेत्रपाटीस्थित कोभिड आइसोलेशन केन्द्र तत्कालका लागि बन्द गरिएको छ ।
कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै आइसोलेशनमा बस्ने बिरामी नभएपछि तत्कालका लागि बन्द गरिएको महासंघअन्तर्गतको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले जानकारी दिए ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि महासंघले गत जेठ ३ गते क्षेत्रपाटीस्थित गोर्खा अस्पतालको भवनमा ५० बेडको आइसोलेशन सेन्टर स्थापना गरेको थियो । महासंघको सहयोगमा सञ्चालित उक्त आइसोलेशनको व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाको १७ नम्बर वडाले गर्दै आएको थियो ।
विशेषगरी काठमाडौंमा घर नभएका तथा भाडामा बसोबास गर्ने संक्रमितलाई लक्षित गरी अक्सिजनरहित उक्त आइसोलेशन सञ्चालनमा ल्याइएको थियो । आइसोलेशनमा बिहानबेलुकै खाना र डाक्टर तथा नर्सको सुविधा प्रदान गरिएको थियो ।
करिब दुई महिना सञ्चालन भएको सो आइसोलेशन केन्द्रबाट करिब ३०० जनाले सेवा लिएका छन् । संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक परेको खण्डमा उक्त आइसोलेशन तत्काल सञ्चालन गर्न सकिने महासंघले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्–
नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा क्षेत्रपाटीमा ५० बेडको आइसोलेशन सञ्चालन
FACEBOOK COMMENTS