काठमाडौं, असोज २१ – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अहिलेको जटिल परिस्थितिमा बाध्यबस कोभिड प्रोटेक्सन चार्ज (कोभिड सुरक्षा शुल्क) लिइरहेको स्पष्ट पारेको छ। अस्पतालले एक विज्ञप्तिमार्फत विभिन्न संचारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड प्रोटेक्सन चार्जेजसम्बन्धी समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग छौं । यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ ।
त्यसका लागि अन्तराष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ)लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको छ’, नर्भिकले भनेको छ, ‘यी सबै प्रयासहरुका लागि ठूलो धनराशि खर्च हुने गर्छ, जसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव छ । अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौ ।’
अस्पतालले कोभिड संक्रमणको शंका भएका डाक्टर, नर्सिङ स्टाफ र अन्य सेवाकर्मीहरुलाई तत्काल आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको भन्दै बिरामीहरुलाई संक्रमणबाट सुरक्षित राख्न सबैखालको उपाय अबलम्बन गरिएको समेत बताएको छ ।
कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि नर्भिक नन्कोभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यसको एक मात्र प्रमुख कारण, हामीले अपनाएका सुुरक्षा अवधारणा र उपायहरु नै हुन् । त्यसकारण यो शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अनुरोध गर्दछौं ।’ अस्पतालले भनेको छ ।
नर्भिकले कोभिड प्रोटेक्सन चार्ज कोभिड प्यासेन्टहरुलाई लिने नगरिएको पनि स्पष्ट पारेको छ।
FACEBOOK COMMENTS